नव प्रवर्तन उधमिलाई सम्मान कार्यकम

 


नव प्रवर्तन उधमिलाई सम्मान कार्यकम 











--काठमाडौं, 

सरकारले तीन नवप्रवर्तन उद्यमीलाई पुरस्कृत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन नवप्रवर्तन उद्यमीलाई नगद दुई-दुई लाखसहित पुरस्कृत गर्नुभएको हो। झापाको हाई हिमालय अर्गानिक प्रालिका प्रदीप घिमिरे, ललितपुरकी माउन्टेन बी कन्सर्न प्रालिकी सरिता भट्टराई, र रूपन्देहीको आवास फर्निचर इण्डस्ट्रिजका यज्ञेश्वरप्रसाद श्रेष्ठ पुरस्कृत भएका हुन्।

औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधिको प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएका उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड २०८० अनुसार पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ।

नवप्रवर्तन कार्यमा संलग्न उद्यमीलाई प्रस्ताव गर्न सरकारले ३० दिने सूचना जारी गरेको थियो। माग गरिएको प्रस्तावअनुसार छवटा प्रस्तावमा मूल्यांकन गरिएको थियो। नेपालभित्रै मूल्य सिर्जना वा नवीनता हासिल अनुसन्धान तथा खोजमूलक कार्यमा गरेको लगानीको अवस्था, उद्योगमा प्राविधिक र विषय विज्ञको संलग्नता, उद्योगका भावी कार्ययोजना उद्योग सञ्चालन र व्यवस्थापन र बजारीकरणको नवीनतम् रणनीतिलाई मूल्यांकनको आधार तोकिएको थियो।

त्यस्तै, उद्योग स्थापना क्षेत्र, रोजगारी संख्या, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता अवस्था, उद्योगले गरेको कारोबार रकम र कर चुक्ताजस्ता विषयलाई मूल्यांकनको आधार बनाइएको थियो। हाई हिमालय अर्गानिक प्रालिले २०७९ देखि प्रांगारिक मल, अर्गानिक किटनाशक औषधिलगायत उत्पादन गर्दै आएको छ। कारखानाका लागि पनि कवाडीबाट फलाम, मेसिन र औजार संकलन गरी मल उत्पादन गर्ने मेसिन निर्माण गरिएको थियो।

घिमिरेले पूर्वी टिमोर, इस्टिमोर, थाइल्याण्डलगायत करिब १५ वटा देशमा कृषि क्षेत्रमा काम गरी अनुभव प्राप्त गर्नुभएको छ। त्यस्तै माउन्टेन बी कन्सर्न प्रालिले २०६८ सालदेखि ललितपुरको कुपण्डोलमा २१ घारबाट मौरीपालन सुरु गरेर हाल एक हजार चार सय माहुरीको घारबाट मह उत्पादन गर्दै आएको छ।

प्रत्यक्ष ३७ र अप्रत्यक्ष रूपमा करिब आठ सयजनालाई रोजगारी दिएको माउन्टेनले निर्यात गर्दै आएको छ। माउन्टेनले वार्षिक छ हजारभन्दा बढी मौरीसहितका घार र एक लाख ४० हजार केजी महका साथै चाकाबाट साबुन र लिपबामसमेत उत्पादन गर्दै आएको छ।

त्यस्तै रूपन्देहीको आवास फर्निचरले आवश्यक पर्ने प्लास्टिक डोरीलगायतका सामान आफैं उत्पादन गर्दै आएको छ। उद्योगले एक हजार दुई सयजनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।

Thank you,  

MOUNTAIN BEE CONCERN PVT. LTD.

Sarita Shrestha Bhattrai


Comments